काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति भएको उल्लेख गरेका छन्। उनका अनुसार समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्र एक आपसमा अन्योन्याश्रित हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत नेपालको आधुनिक लोकतान्त्रिक यात्रा प्रारम्भ भएको हो।
सभापति थापाले फागुन ७ लाई कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहासको गौरवमय दिनको रूपमा स्मरण गर्दै विसं २००७ को ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको बताएका छन्।
उनले भने, “कात्तिक २६, २००७ बाट प्रारम्भ भएको जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रहरूमा पनि अग्रगामी मार्ग प्रशस्त गरेको थियो। मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो। प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको बलियो आधार यही दिनले निर्माण गरेको छ।”
सभापति थापाले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि क्रान्ति, सङ्घर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने सबै सपूतहरूको योगदानको स्मरण गर्दै नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थायित्व प्रदान गर्दै मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउने लक्ष्य पूरा गर्नु मात्रै सहिदहरूप्रति सच्चा सम्मान हुने बताइन्।
उनले लोकतन्त्र स्थापना र पुनःस्थापनाका क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्ने ज्ञात–अज्ञात सबै सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान व्यक्त गरेका छन्।