काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले आजको दिन निरंकुश शासनविरुद्धको लामो सङ्घर्षले विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गरिन्। सन्देशमा पूर्व राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको त्याग, बलिदान र संघर्षको स्मरण गराउने बताइन्।
उनले भनिन्, “यो दिवसले जनताको एकताबद्ध शक्तिले लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रता स्थापना गर्न सकिने प्रेरणा दिन्छ। लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभइ व्यवहार र संस्कारको रूपमा आत्मसात् गर्दै यसको संरक्षण र सुदृढीकरणका लागि निरन्तर प्रयासरत रहनु आवश्यक छ।”
सन्देशमा संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउनु अपरिहार्य भएको र विशेष राजनीतिक परिस्थितिमा यही फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउन सबैको साझा दायित्व रहेको पनि उनले जोड दिएकी छन् ।