काठमाडौँ । देशभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। विभागका अनुसार तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली देखिएको छ। देशका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ। साथै अन्य पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका केही स्थानमा तुवाँलो कायम रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसहित अन्य हिमाली क्षेत्रमा बदली रहनेछ। मधेस प्रदेश तथा बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र अन्य भूभागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
तराई क्षेत्रमा हुस्सु र तुवाँलोका कारण दृश्यता घट्न सक्ने तथा पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातका कारण यातायात, कृषिकर्म र दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।