शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

महाशिवरात्रिपछि पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

बुधबार, फाल्गुन ६ २०८२

काठमा । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ।

संस्थानका प्रशासक शैलेशराज कुँवरका अनुसार २२०० नागा बाबासहितका साधुसन्तलाई कूल रु २२ लाख ५० हजार नगद दक्षिणा प्रदान गरिएको छ। संस्थानले दिएको दक्षिणाको आधा रकम कोषले थप गरी रु ११ लाख २५ हजारसमेत उपलब्ध गराएर बिदाइ गरिएको जनाएको छ।

मङ्गलबार बिहान ११ बजेदेखि मन्दिरअघिको पश्चिम ढोकाबाट बिदाइ कार्यक्रम सुरु गरिएको थियो। संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार नेपाल र भारतका विभिन्न अखडाबाट आएका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा प्रदान गरिएको हो।

पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी चार हजारभन्दा बढी साधुसन्त आएको अनुमान गरिए पनि पहिलो चरणमा आज २२०० जनालाई बिदाइ गरिएको र बाँकीलाई क्रमशः बिदाइ गरिने बताइएको छ।

महाशिवरात्रिका अवसरमा प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन नागा बाबासहितका साधुसन्तलाई बिदाइ गर्ने परम्परा रहेको छ। कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार संस्थानले उपलब्ध गराएको दक्षिणामा आधा रकम कोषले थपेर वितरण गरिएको हो।

फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म कोषले नै साधुसन्तका लागि खाने, बस्ने तथा धुनी बाल्ने दाउरा उपलब्ध गराउँदै आएको छ। आजको बिदाइ समारोहमा फाल्गुन कृष्ण एकादशीका दिन रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएको लोटा, चम्मर, घण्टी, राडी एक सेटसहित २१ प्रकारका सामग्री पनि समावेश गरिएको संस्थानले जनाएको छ।