काठमाडौँ । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज विभिन्न सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थबाट बनेको ल्होसार शेर्पा समुदायको नयाँ वर्षका रूपमा मनाइने प्रमुख पर्व हो।
पर्वका अवसरमा गाउँघर, टोलका बाटोघाटो र पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ तथा ‘खाप्से’ खाने र आपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ। यसलाई पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ।
महायान बौद्ध परम्परा अनुसार चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाइन्छ। स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उत्साहले पर्वलाई थप रौनक बनाउँछ।
यो पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उल्लास भर्दै आपसी प्रेम, सद्भाव र एकताको भावना सुदृढ बनाउने विश्वास छ। गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, डेशिल, गुथुक र खाप्सेजस्ता परिकारको स्वाद लिने तथा परिवारसँग उल्लासपूर्वक समय बिताउने परम्पराले ल्होसारलाई नेपाली सांस्कृतिक विविधताको महत्वपूर्ण अंगका रूपमा स्थापित गरेको छ।