बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महाशिवरात्रिपछि पशुपतिमा साधुसन्तलाई दान–दक्षिणासहित बिदाइ गरिँदै

मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिँदैछ। फागुन कृष्ण एकादशीका दिन आएका साधुसन्तलाई फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ।

यो परम्परा विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले ‘जगनन्द प्रकाशेश्वर गुठी’ स्थापना गरेपछि सुरु भएको बताइन्छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले संयुक्त रूपमा बिदाइ कार्यक्रम आयोजना गर्दै आएका छन्।

करिब रु ३० लाख बजेट

साधुसन्तको बिदाइका लागि गुठी संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ। रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड आएकै दिन वितरण गरिएको छ र स्तरअनुसार दक्षिणा प्रदान गरिनेछ। नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सहज होस् भनेर दक्षिणा रकम बढाइएको जनाइएको छ।

चार हजारभन्दा बढी साधुसन्त

पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत परिसरका विभिन्न स्थानमा गरी चार हजारभन्दा बढी साधुसन्त बसेका छन्। विभिन्न सम्प्रदायका साधुहरू छुट्टाछुट्टै अखडामा बसोबास गरिरहेका छन्।

कालमोचनघाटको परम्परा परिवर्तन

पहिले थापाथलीस्थित कालमोचनघाट बाट साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने चलन थियो। कोत पर्वमा मारिएका व्यक्तिहरूको दाहसंस्कार यहीँ भएकाले मृतआत्माको शान्तिका लागि यहाँबाट बिदाइ गर्ने विश्वास रहेको बताइन्छ। अहिले भने पशुपतिको पश्चिम मूलढोकाबाट बिदाइ गरिन्छ।

थापाथली कालमोचनघाटमा रहेका वैरागी, उदासी, सन्यासी र नाथ अखडामा आएका साधुसन्तलाई भने आजै त्यहीँबाट बिदाइ गरिनेछ।

कोषको दान–दक्षिणा र रुद्राक्ष

२०६८ चैत २६ देखि लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावलीपछि २०६९ सालदेखि कोषले पनि दान–दक्षिणा दिई भोजन गराएर साधुसन्तलाई बिदाइ गर्न थालेको हो।

कोषले रु ५,००१ देखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको छ। रु ५,००१ – २० साधु, रु १,००१ – २०० साधु, रु ७०१ – १,००० साधु, रु ५०१ – १,००० साधु, रु ३०१ – १,३०० साधु, रु २०१ – सबै जोगी र लाइनमा बस्ने सबैलाई रु १०१ प्रदान गरिनेछ। यसका लागि कोषले रु ८ लाख बजेट छुट्याएको छ।

साथै, वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुसन्तलाई बिदाइ गरिने तयारी गरिएको छ। धुनी जगाउनका लागि करिब ५० हजार किलो दाउरा खरिद गरिएको छ, जसको लागत करिब रु ७ लाख रहेको जनाइएको छ।

कोषका अनुसार भेटी बाकसमा जम्मा गरिएको रकम हालसम्म करिब रु १५ करोड पुगेको छ। पारदर्शी व्यवस्थामार्फत पशुपतिनाथलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको जनाइएको छ।