जनकपुर । नेपाल–भारत सांस्कृतिक सेतुका रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत् सुरु भएको छ।
जनकपुरधाम नजिक धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा प्रारम्भ गरिएको हो।
पहिलो दिन परिक्रमा टोलीले जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गर्नेछ। त्यसको भोलिपल्ट बिहान पूजापाठ सम्पन्न गरी भारतको विहार राज्यस्थित कल्याणेश्वर मन्दिर तर्फ प्रस्थान गरिने कार्यक्रम छ।
परिक्रमा मार्गअनुसार श्रद्धालुहरू फूलहरको गिरीजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुग्नेछन्। त्यसपछि पूर्णिमाका दिन पुनः जनकपुरधाम फर्किने परम्परा छ।
हरेक वर्ष आयोजना हुने यस धार्मिक यात्रामा भक्तजनले १५ दिनमा नेपालको १०५ किलोमिटर र भारतको २८ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन्।
यस वर्षको परिक्रमाको उद्घाटन कृष्णप्रसाद यादव ले डोला उठाएर गर्नुभयो। कार्यक्रममा उहाँले मधेश प्रदेश सरकारले रामायण सर्किटलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने जानकारी दिए। भारतसँग समन्वय गरी धार्मिक पर्यटन प्रवर्द्धनका लागि आफू स्वयम् भारत गएर सरोकारवालासँग छलफल गर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री यादवले अयोध्यालाई सिधै जनकपुरधामसँग जोड्ने उद्देश्यले जनकपुरधाम विमानस्थल विस्तार गर्ने योजना प्रदेश सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गरे ।