सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा हिजाे साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ।
पूर्वाधार विकास कार्यालय सर्लाही मा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिका निवासी सव–इञ्जिनियर प्रमोदकुमार यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार छातिमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।
नेपाल प्रहरी ले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको जनाएको छ। प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार दोषी पहिचान र पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।