भक्तपुर । महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिरका रूपमा प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित मन्दिरमा बिहान ४ बजेदेखि नै चारै ढोका खुला गरी भक्तजनलाई गर्भगृहभित्र प्रवेश गरेर शिलामै पूजा गर्ने व्यवस्था मिलाइएको मन्दिर संरक्षण तथा विकास समितिले जनाएको छ। भक्तजनका लागि पञ्चस्नान, प्रसादी वितरण, स्वयंसेवक परिचालन, सुरक्षाकर्मी तैनाथ तथा स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ।
समितिका पदाधिकारीका अनुसार आज करिब एक लाख दर्शनार्थीले मन्दिरमा पूजा–दर्शन गर्ने अनुमान गरिएको छ। लाइन व्यवस्थापन यस्तो गरिएको छ कि आधा घण्टाभित्र पूजा गर्न सकिने व्यवस्था गरिएको बताइएको छ।
महाशिवरात्रिका लागि भारतलगायत विभिन्न स्थानबाट करिब ४०० साधुसन्त र बाबा डोलेश्वर आएका छन्। उनीहरूलाई खाने, बस्ने तथा दक्षिणा, कम्बल र धोतीसहित सम्मानपूर्वक बिदाइ गर्ने व्यवस्था गरिएको छ।
अन्य शिवालयमा पनि भीड
कैलाशनाथ महादेव, आशापुरी महादेव, गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर तथा भक्तपुरको दत्तात्रय मन्दिरलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।
त्यस्तै, चाँगुनारायण मन्दिर क्षेत्रका श्रीकृष्ण वर्तेश्वर महादेव र नगरकोटस्थित रत्नचुडेश्वर महादेव मन्दिरमा पनि सहज दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ।
महाशिवरात्रिका अवसरमा भक्तजनले उपवास, जाग्राम र शिवपूजा गर्दै देशभरका शिवालयमा श्रद्धाभाव व्यक्त गरिरहेका छन्।