बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महाशिवरात्रि पर्व आज देशभर श्रद्धाभक्तिका साथ मनाइँदै

आइतबार, फाल्गुन ३ २०८२

काठमाडौँ । आराध्यदेव भगवान् शिवको उपासना गर्ने महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा, भक्ति र विधिपूर्वक पूजाआराधनासहित मनाइँदैछ। प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने दिन यो पर्व मनाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। मध्यरातमा चतुर्दशी तिथि परेकै कारण आजै महाशिवरात्रि मनाउने निर्णय गरिएको हो। शास्त्रीय मान्यताअनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिव प्रकट भएको विश्वास गरिन्छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई पूजा, व्रत र आराधनामा जुटेका छन्। दूध, धतुरो र बेलपत्र अर्पण गरी उपवास बस्ने तथा रातभर जाग्राम गर्ने चलन छ। यसरी व्रत र पूजा गरे सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

पशुपतिनाथमा विशेष तयारी

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा विशेष पूजा, दीपोत्सव, महादीप, अखण्डदीप तथा लाखौँ बेलपत्र अर्पण गरिँदैछ। रातका चार प्रहरमा चार प्रकारका विशेष पूजा हुने व्यवस्था मिलाइएको छ। कैलाशकुट र किरातेश्वर क्षेत्रका सङ्गीत आश्रममा शास्त्रीय नृत्य–सङ्गीतसमेत प्रस्तुत गरिँदैछ।

आज बिहान २ बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको छ। दर्शनार्थीको सहजताका लागि तीनवटा बाहिरी लाइन र भित्रीतर्फ छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, बत्तीसपुतली–गौशाला, तिलगङ्गा, पिङ्गलास्थान, वनकालीलगायत क्षेत्रबाट प्रवेशको प्रबन्ध मिलाइएको छ।

दर्शनार्थीका सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, वनकालीलगायत स्थान तोकिएका छन्। तीन वर्षअघिदेखि लागू गरिएको गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेधको निर्णय यस वर्ष पनि निरन्तरता दिइएको छ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वरलगायत उपत्यका तथा देशभरका शिवालयमा भक्तजनको ठूलो भीड लागेको छ। छिमेकी राष्ट्र भारतलगायतबाट आएका तीर्थयात्रीसमेत पशुपतिनाथमा दर्शनका लागि पुगेका छन्।