शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेपाली सेनाको २६३औँ सेना दिवस मनाइँदै

आइतबार, फाल्गुन ३ २०८२

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापना दिवस अर्थात् २६३औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रमका साथ मनाउँदै छ।

रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिएको छ। राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन्। परम्पराअनुसार सेनाले महाशिवरात्रिको दिनलाई नै सेना दिवसका रूपमा मनाउँदै आएको छ।

समारोहमा शिवरात्रि बढाइँ, आकर्षक सैनिक परेड, तोप बढाइँ, कवाज प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन्। जङ्गीअड्डामातहतका पृतना, बाहिनी, गण, गुल्म, कूटनीतिक नियोग तथा शान्ति मिसनमा समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ।

इतिहास र योगदान

नेपाली सेनाको वर्तमान सङ्गठनात्मक स्वरूप वि.सं. १८१९ देखि सुरु भएको मानिन्छ। राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षामा सेनाले विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अनुशासन, चेन अफ कमान्ड, राजनीति निरपेक्षता र एकताको भावना यसको विशेषता मानिन्छ।

अन्तरराष्ट्रिय स्तरमा पनि नेपाली सेनाले भरपर्दो र विश्वसनीय फौजको छवि बनाएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९५८ देखि शान्ति स्थापना कार्यमा सहभागी हुँदै आएको सेनाले हालसम्म ४४ वटा शान्ति मिसनमा एक लाख ६२ हजारभन्दा बढी शान्ति सैनिक परिचालन गरिसकेको छ। शान्ति स्थापनाका क्रममा ७४ सैनिकले जीवन बलिदान दिएका छन् भने ७७ जना घाइते भएका छन्। हाल १० मिसनमा ३९१ महिलासहित ४ हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्।

राष्ट्रिय विकास र विपद् व्यवस्थापनमा भूमिका

नेपाली सेनाले विपद् व्यवस्थापन, सडक तथा पूर्वाधार निर्माण, ऐतिहासिक सम्पदाको संरक्षण र हिमाल सफाइ अभियानमा उल्लेखनीय योगदान दिँदै आएको छ। सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माण कार्य अघि बढिरहेको छ।

यसैबीच, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ।