काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका थोरै स्थानमा तुँवालो रहने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।