काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको सहज व्यवस्थापनका लागि सबै तयारी पूरा भएको जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ। १७१ सदस्यीय मूल समारोह समितिले नौ वटा विषयगत उप–समितिसहित पर्व व्यवस्थापनका काम गरिरहेको छ।
पशुपतिनाथमा दर्शनार्थीलाई सहज सेवा प्रदान गर्न कोषले फूल र बत्तीले मन्दिर परिसर आकर्षक रूपमा सजाएको छ। नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका विभिन्न देशबाट भक्तजनको उपस्थिति बढेको छ। मन्दिरका चारै ढोकाहरू आइतबार बिहान २ बजेदेखि दर्शनार्थीका लागि खुल्ने निर्णय गरिएको छ।
सुरक्षा व्यवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालन छन्। साथै, कोषको आफ्नै सुरक्षा टोली, साधुसन्त, महन्थ र भक्तजनको सुरक्षामा खटाइएको छ।
स्वास्थ्य व्यवस्थापनमा अस्पताल शैया, स्वास्थ्यकर्मी, औषधी, एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। धर्मशालामा साधुसन्त बस्ने व्यवस्था गरिएको छ भने तिलगंगा, हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको छ।
भक्तजनलाई भगवान् पशुपतिनाथको दर्शन, चन्दन वितरण र सम्पूर्ण सेवा व्यवस्थित गरी पर्व उल्लासमय बनाउन तयारी गरिएको छ। गुठी संस्थानले फागुन कृष्ण एकादशीदेखि दर्शनार्थीका लागि खाने, बस्ने र धुनी व्यवस्थापन गरेको छ।
कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले विश्व शान्तिसँग जोडेर पर्व मनाउने तयारी गरिएको र सरसफाइ तथा वातावरण संरक्षणमा विशेष ध्यान दिएको जानकारी दिए ।