काठमाडौँ । नेपालले वर्तमान विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको धारणा व्यक्त गरेको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले आजको विश्वव्यापी चुनौती र बढ्दो अनिश्चितताका बीच क्षेत्रीय सहकार्य अपरिहार्य भएको बताए।
उनले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्यको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
बैठकमा सार्कका महासचिव गोलाम सरवारले सङ्गठनले चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गर्दै क्षेत्रीय सहकार्यसम्बन्धी आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
आज समापन हुने उक्त बैठकले सार्क सचिवालयको बजेट तथा आगामी कार्यक्रमहरू अनुमोदन गर्नेछ। बैठकमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ।