काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहने जनाइएको छ। तराईका बाँकी क्षेत्रहरूमा भने मौसम प्रायः सफा रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
आज राति पनि तराईका केही स्थानमा तुँवालो लाग्न सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।