शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाह सुधार्नुपर्छः गगन थापा

बुधबार, माघ २८ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र सर्वसाधारणले भोग्दै आएको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’मार्फत सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा सभापति थापाले सामान्य सरकारी सेवा लिनसमेत नागरिकले अनेक झन्झट बेहोर्नुपरेको उल्लेख गरेका छन्।

हालको प्रशासनिक संयन्त्रको आलोचना गर्दै उनले नागरिकले सेवा लिन सरकारको ढोकामा धाउन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्। “नागरिकहरु सरकारको ढोकामा जानै नपरोस् सेवा लिनको लागि। कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ—आम नागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ,” उनले भनेका छन्।

सरकारको कार्यालय पुग्नै परे पनि एकपटकभन्दा बढी धाउन नपर्ने व्यवस्था हुनुपर्ने उल्लेख गर्दै उनले सेवा लिएपछि नागरिकले ‘धिक्कार सरकार’ होइन ‘धन्यवाद सरकार’ भन्न सक्ने अवस्था बनाउनुपर्ने बताएका छन्।

परम्परागत कागज र फाइलमा आधारित प्रणालीले सेवा प्रवाह जटिल बनेको जनाउँदै थापाले प्रविधिको प्रयोगमार्फत कार्यशैली परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। डिजिटल गभर्नेन्समार्फत सेवा प्रवाहको तरिका परिवर्तन गरी हैरानी अन्त्य गर्ने आफ्नो स्पष्ट अडान रहेको उनको भनाइ छ।

लाइन बस्नुपर्ने बाध्यता र फाइल घुमाएर काम अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधिमैत्री प्रशासन नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै उनले अबको प्रशासनिक संरचना चुस्त, पारदर्शी र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। साथै, ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को सिद्धान्तअनुसार अघि बढ्नुपर्ने उनले बताएका छन्।