काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी नहोस भन्ने उद्देश्यले सबै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकी छन्।
महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका चुनावमा सुरक्षा संयन्त्रबीच देखिएका त्रुटि र रिक्तता दोहोरिन नदिन विशेष ध्यान दिन आग्रह गरिन्।
उनले भनिन्, “यस निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न अघिल्ला निर्वाचनका अनुभव र आसन्न चुनावका विविध आयामको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गर्दै त्रुटिरहित ढङ्गले काम गर्नुहोस्।”
प्रधानमन्त्री कार्कीले नेपाल सरकारबाट स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई तोकिएका जिम्मेवारीहरू प्रभावकारी रूपमा सम्पन्न हुनेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गरिन् । जनतालाई सुरक्षाको प्रत्याभूति दिनुका साथै सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण सृजना गर्न अन्य सुरक्षा निकायसँग स्पष्ट कार्ययोजनासहित सहकार्य गर्न उनले निर्देशन दिइन् ।
बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख र पृतनापतिहरूको सहभागिता रहेको थियो। प्रधानसेनापति अशोकराज सिग्देलले बैठकमा स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए। सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको अवस्था, हालसम्म सम्पन्न कार्यहरूको समीक्षा, सुझाव तथा समसामयिक विषयमा छलफल गरेका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।