शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सामाजिक सञ्जालको प्रचार र धरातलको यथार्थ फरक छः प्रचण्ड

मंगलबार, माघ २७ २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’को प्रभाव जनताले बुझिसकेको उल्लेख गरे। उनले पार्टीका नेता तथा कार्यकर्तालाई तर्कसहित यस्ता प्रचारको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए।

सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’को संज्ञा दिँदै दाहालले फिल्डमा त्यसको खास प्रभाव नरहेको स्पष्ट पारे। जहाँ पहिला यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव क्रमशः ओरालो लागेको उनको भनाइ थियो।

नयाँ स्थानहरूमा भ्रम सिर्जना गर्न सजिलो भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उल्लेख गर्दै उनले उपत्यकासहितका क्षेत्रमा अनुभवी नेताहरूलाई जनताले बुझिसकेको र स्टन्टबाज तथा हल्लाखोर प्रवृत्तिबाट मुक्त हुँदै गएको दाबी गरे।

जहाँ जनताले अझै यथार्थ बुझ्न नपाएका छन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको उल्लेख गर्दै संयोजक दाहालले कम्युनिष्ट कार्यकर्तालाई तर्क र तथ्यका आधारमा ती भ्रम चिर्न आग्रह गरे।

राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको दाहालको तर्क थियो। अहिले सिंगो राष्ट्र यही निष्कर्षमा पुगेको भन्दै उनले यसलाई पार्टीको विचार र बुझाइको जितका रूपमा व्याख्या गरे।

संयोजक दाहालले आगामी २४–२५ दिन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई पूर्ण मेहनतका साथ चुनावी अभियानमा जुट्न र पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने संकल्पका साथ अघि बढ्न निर्देशन दिए। साथै, चुनौतीपूर्ण अवसरको सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा पार्टी सधैँ अग्रपंक्तिमा रहने प्रतिबद्धता पनि व्यक्त गरे।