शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालेनमाथि ओलीको आरोप : आफ्नै निर्वाचन क्षेत्रमा विश्वास गुमाएकाहरू नयाँ क्षेत्रको खोजीमा भौँतारिन्छन्

सुनाए झापा- ५ मा गरेको विकासका फेहरिस्त

मंगलबार, माघ २७ २०८२

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित टिप्पणी गर्दै आफ्नै निर्वाचन क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा भौँतारिने गरेको बताएका छन्।

गौरीगञ्जमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंबाट निर्वाचित भइसकेको व्यक्तिले फेरि त्यहीँबाट चुनाव लड्ने आँट नगर्नु आफैंमा गम्भीर प्रश्नको विषय भएको उल्लेख गरे। “काम गर्न नसकेपछि अरू ठाउँ खोज्नुपर्ने बाध्यता आउँछ,” उनले भने।

अध्यक्ष ओलीले झापाको गौरीगञ्जसँग आफ्नो सम्बन्ध वि.सं. २०२६ सालदेखि सुरु भएको स्मरण गराउँदै २६, २७, २८ र २९ सालसम्म आफू यही क्षेत्रको संगठन विस्तारमा सक्रिय रहेको बताए। ३० सालमा जेल परेपछि केही समय यहाँ आउन नसके पनि ४७ सालको अन्त्यदेखि निरन्तर यस क्षेत्रको विकाससँग जोडिएको उनको भनाइ थियो।

गौरीगञ्जको विगत र वर्तमानको तुलना गर्दै उनले अहिलेको गौरीगञ्ज ‘सेल्फी रोड’ बनेको उल्लेख गरे। पहिले कल्पना गर्न नसकिने चिल्ला सडक, पक्की पुल र आधुनिक पूर्वाधार आज यथार्थमा परिणत भएको उनले बताए।

मेचीदेखि महाकालीसम्म फैलिएको हुलाकी राजमार्ग आफ्नै पहलमा अघि बढेको दाबी गर्दै अध्यक्ष ओलीले सांसद र प्रतिपक्षमा रहँदा लेराको पुलका लागि गरेको निरन्तर मागलाई धेरैले उपहास गरेको स्मरण गरे। तर हुलाकी राजमार्गको अवधारणासँगै ती पुलहरू आफैं निर्माण भएको उनको भनाइ थियो।

उनका अनुसार कन्काई नदीको एउटा पुलबाहेक अधिकांश काम सम्पन्न भइसकेका छन् भने रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक तथा इन्जिनियरिङ समस्या समाधानको चरणमा रहेका छन्।

वि.सं. २०२६–२७ सालको गौरीगञ्ज र अहिलेको अवस्थाबीच आकाश–पातालको फरक रहेको उल्लेख गर्दै उनले देउरियाको पुरानो काठे पुल विस्थापित भई आधुनिक पक्की पुल निर्माण भएको उदाहरण प्रस्तुत गरे। विद्यालय, क्याम्पस भवन, खानेपानी ट्याङ्की र सडक पूर्वाधारले गाउँको मुहार फेरिएको उनले बताए।

सञ्चार प्रविधिको विकासबारे उल्लेख गर्दै अध्यक्ष ओलीले एक समय गाविसले एउटा टेलिफोन लाइनका लागि निवेदन दिनुपर्ने अवस्था रहेको स्मरण गरे। अहिले गाउँ–गाउँमा मोबाइल र ४जी इन्टरनेट पुगेको भन्दै यसले सूचना र ज्ञानमा नागरिकको पहुँच विस्तार गरेको बताए।

सामाजिक सुरक्षाका विषयमा उनले वि.सं. २०५१ सालमा सुरु गरिएको सामाजिक सुरक्षा भत्तालाई आफ्नै नेतृत्वको सरकारले ज्येष्ठ नागरिक भत्ता ४ हजार रुपैयाँसम्म पु¥याएको दाबी गरे। हाल राज्यले ३७–३८ अर्ब रुपैयाँ सामाजिक सुरक्षामा खर्च गरिरहेको उल्लेख गर्दै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको स्पष्ट पारे।

गुइँठा बाल्नु, दाउरा प्रयोग गर्नु वा फुसको घरमा बस्नु संस्कृति नभई गरिबी र पछौटेपन भएको उल्लेख गर्दै अध्यक्ष ओलीले संस्कृति जोगाउँदै गरिबी हटाउनुपर्ने आवश्यकता औँल्याए। उनले बिजुली र स्वदेशमै उत्पादन हुने ग्यास प्रयोगतर्फ अघि बढ्नुपर्ने बताए।

समाजमा अझै कायम रहेको बोक्सी प्रथा जस्ता अन्धविश्वासलाई दुःखद् बताउँदै उनले वैज्ञानिक चेतनाले यस्ता कुप्रथालाई जरैदेखि उखेल्नुपर्ने बताए। “तन्त्र–मन्त्रले समाज अगाडि बढ्दैन,” उनको भनाइ थियो।

शिक्षालाई दीर्घकालीन विकासको बलियो आधारका रूपमा उल्लेख गर्दै अध्यक्ष ओलीले सबै जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पु¥याउन अभिभावकलाई आग्रह गरे। शिक्षा, चेतना र वैज्ञानिक सोचले मात्रै समाज रूपान्तरण सम्भव हुने उनले बताए।

राजनीतिक सन्दर्भमा अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय साख जोगिने र विकासले गति लिने दाबी गरे।