काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको मागअनुसार नै सिङ्गो मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरेको दाबी गरेका छन् ।
नेकपा काठमाडौँ क्षेत्र नम्बर ५ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताए। नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्तिलाई समेट्ने उद्देश्यका साथ पार्टी गठन गरिएको उल्लेख गर्दै उनले हाल नेकपामा साना–ठूला गरी २६ वटा पार्टी तथा हजारौँ कार्यकर्ता आबद्ध भएको जानकारी दिए ।
पूर्वप्रधानमन्त्री दाहालले नेकपाले सुरुदेखि नै निर्वाचनको माग गर्दै आएको र अहिले त्यसैको परिणामस्वरूप देश निर्वाचनमा होमिएको बताए। नेकपा दिनानुदिन बलियो बन्दै गएको र जनताको भरोसाको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ।
साथै, उनले सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता औँल्याउनुभयो। नेकपाले अघि सारेका नीति र कार्यक्रमप्रति देशभर जनआशा र विश्वास बढ्दै गएको दाहालले दाबी गरे ।
कार्यक्रममा नेकपा काठमाडौँ क्षेत्र नम्बर ५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश फरक दिशातर्फ अघि बढेको उल्लेख गर्दै त्यस आन्दोलनलाई संस्थागत गर्न नेकपाको जित आवश्यक रहेको बताए ।
यस्तै, काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमाल शर्माले जेनजी आन्दोलनको भावना अनुरूप नेकपा नयाँ चुनाव चिह्नसहित चुनावी मैदानमा उत्रिएको भन्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन आग्रह गरे ।