काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचन प्रक्रिया, मताधिकार र सही मतदानबारे जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयनमा ल्याएको छ।
मत बदर हुने अवस्था न्यूनिकरण गर्ने र मतदातालाई सही मतसङ्केतबारे सचेत गराउने लक्ष्यसहित आयोगले डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतनामूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ। मतदातालाई यथार्थपरक र सही सूचना उपलब्ध गराउन शिक्षा कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको आयोगको भनाइ छ।
डिजिटल माध्यममा केन्द्रित सचेतनालाई वडास्तरसम्म विस्तार गर्ने उद्देश्यले आयोगले माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन थालेको छ। कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवक छनोटका लागि स्थानीय तहमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट सम्बन्धित निर्वाचन कार्यालयले प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ।
मतदाता शिक्षा सामग्रीको उत्पादन र प्रभावकारी प्रचार–प्रसारका लागि आयोगले सरकारी स्वामित्वका सञ्चारमाध्यम तथा विभिन्न नियामक निकायसँग सहकार्य गरिसकेको छ। राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र प्रेस काउन्सिल नेपालसँग यसअघि नै समझदारी भइसकेको आयोगले जनाएको छ।
प्रभावकारी मतदाता शिक्षाले मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने मतदाताको क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने आयोगको विश्वास छ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ। निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।