शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देश परिवर्तनका लागि युवाको नेतृत्व अपरिहार्यः सभापति लामिछाने

सोमबार, माघ २६ २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक परिवर्तन गर्न युवाशक्तिको नेतृत्व अनिवार्य रहेको बताएका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई इतिहास लेख्ने अवसरका रूपमा व्याख्या गरे।

सभामा बोल्दै लामिछानेले भने, “यो सभा होइन, जमघट हो। मुलुकले इतिहास लेख्ने दुर्लभ अवसर पाएको छ। अब्बल युवा नेतृत्वले मात्रै देशलाई सही दिशामा अघि बढाउन सक्छ।” उनले विगतका निर्वाचनतर्फ संकेत गर्दै धेरै उम्मेदवार विजयी भए पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे। “धेरैपटक धेरै उम्मेदवार जिते, तर देशले जित्न सकेन। हामी देशलाई जिताउन हिँडेका हौँ,” उनले भने।

उनले जनताको शक्तिलाई कसैले पनि नजरअन्दाज गर्न नहुने स्पष्ट पारे। विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र शक्ति केन्द्रित राजनीतिमा अल्झिएको आरोप लगाउँदै उनले भने, “अब जनताको ताकतलाई बेवास्ता गर्नेहरूलाई जनताले पत्याउने छैनन्।”

रास्वपाभित्रको एकता र आन्तरिक समझदारी उल्लेख गर्दै लामिछानेले पद र भागबण्डाको राजनीतिभन्दा माथि उठेर नयाँ पुस्ता एक ठाउँमा उभिएको दाबी गरे। “हामी पदको भागबण्डा नगरी नयाँ साथीहरू एकठाउँमा उभिएर आएका हौँ,” उनले स्पष्ट पारे।

स्थिर सरकार निर्माणलाई मुख्य एजेन्डा बनाउँदै उनले आगामी पाँच वर्ष राजनीतिक अस्थिरताबाट देशलाई मुक्त गरिने प्रतिबद्धता जनाए। “पाँच वर्ष एउटै प्रधानमन्त्रीसहितको स्थायी सरकार आवश्यक छ,” उनले भने।

लामिछानेले विगतमा निर्वाचित जनप्रतिनिधिहरू जनताको अपेक्षाअनुसार काम गर्न सके–नसकेको विषय अहिले स्पष्ट भइसकेको उल्लेख गर्दै नयाँ पुस्ताका उम्मेदवारलाई विश्वास गर्न मतदातासँग आग्रह गरे। “युवा साथीहरू पहिलो पटक उम्मेदवार बनेका छन्, तपाईंको मत खेर जाने छैन,” उनले आश्वस्त पारे।

उनले रुपन्देही क्षेत्र नं १ बाट पार्टीका महामन्त्री सुनील लम्साल उम्मेदवार रहेको जानकारी दिँदै उनलाई विजयी गराउन आग्रह गरे। साथै, चुनावी अभियानलाई जनअभियानका रूपमा अघि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले परिवर्तनका लागि सबैलाई सक्रिय हुन आह्वान गरे।

युवामुखी नेतृत्व, स्थायी सरकार र जनमतको सम्मानजस्ता एजेन्डासहित उनले आगामी निर्वाचनलाई परिवर्तनको निर्णायक मोडका रूपमा प्रस्तुत गरेका छन्।