बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, मृत्यु हुनेको सँख्या २० पुग्यो

सोमबार, साउन १३ २०७६

काबुल । अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ।

सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए। आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए।

आइतबार रातिसम्म पनि आक्रमण जारी रहेको बताइएको थियो। स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४ः४० बजे सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालयनजिकै पारेर विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ।

विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,” अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताए। सोमबार बिहान प्राप्त समाचारमा २० जनाको ज्यान गएको पुष्टि गरिएको छ।

मारिनेमा चार जना प्रहरी र १६ जना गैर सैनिक नागरिक रहेका छन्। राति भएको सो आक्रमणमा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको र उनीहरुमध्ये कतिपयको प्रहरी कारबाहीमा परी ज्यान गएको थियो।

उक्त आक्रमणबाट ४३ जना सर्वसाधारण नागरिक घाइते भएका छन्। आक्रमणकारीहरु मध्येबाट चार जनाको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ।

सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उनले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ।