शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘समृद्ध नेपाल, सुखी नेपाली’ वेद र प्राचीन सभ्यताको मर्मबाट निर्देशित छः अध्यक्ष ओली

आइतबार, माघ २५ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित रहेको बताएका छन् ।

एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास बोकेको देश भएको उल्लेख गर्दै यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वमै अग्रणी रहेको दाबी गरे। उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक मन्त्रलाई नै आधुनिक युगमा समृद्धि र सुखको आधार बनाइएको बताए ।

स सम्बोधनका क्रममा अध्यक्ष ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता स्पष्ट पार्दै सनातन परम्परालाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गरे। ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रचलनमा आएको उल्लेख गर्दै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पत्ति भएको धारणा राखे।

अध्यक्ष ओलीले चिकित्सा विज्ञान, विशेषगरी सर्जरीको सुरुआत नेपालकै भूमिबाट भएको दाबी गर्दै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे। उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको राष्ट्रिय गौरव पुनर्स्थापना गर्ने आफ्नो संकल्प दोहोर्याए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, “हाम्रा पुर्खाहरूले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्दै सबै मानिस सुखी, निरोगी र भय–त्रासमुक्त जीवन बाँचून् भन्ने कामना गरेका थिए। समृद्ध नेपाल र सुखी नेपाली भन्ने मेरो अवधारणा पनि यही वैदिक दर्शनबाट प्रेरित हो।”

कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताप्रति आफू पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै आफू चुनाव प्रचारका लागि नभई देश निर्माणको संकल्प दोहोर्याउन उपस्थित भएको स्पष्ट पारे। आचारसंहिताका कारण चाहँदा पनि पुराणमा दान गर्न नमिल्ने बाध्यता रहेको कुरा पनि उनले सुनाए ।