कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाँडी गाउँपालिका–६ चानदेवस्थित किसनसिंह साउदको घरमा गए राति जङ्गली हात्तीले आक्रमण गरेको थियो। आक्रमणका क्रममा साउदकी छ वर्षीया छोरी रोजिना साउद गम्भीर घाइते भएकी थिइन्।
हात्तीको आक्रमणपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद पनि घाइते हुनुभएको छ। दुवै घाइतेलाई उपचारका लागि धनगढी लगिएको थियो। प्रवक्ता शाहीका अनुसार छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो।
घाइते पार्वती साउदको अवस्था सामान्य रहेको र थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।