काठमाडौँ । नेपाली तथा भारतीय चलचित्रमा लामो समयदेखि सक्रिय अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ।
आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको हृदयघातका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ।
अध्यक्ष निरौलाले भनेका छन्, “बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले उहाँले साथमा रहेका सहयोगीलाई छिटो उठाउन भन्नुभएको रहेछ। सहयोगीले बिहान उठाउन जाँदा उहाँलाई अचेत अवस्थामा फेला पारेर अस्पताल ल्याइयो, तर प्रारम्भिक जाँचपछि चिकित्सकले मृत घोषणा गरे।”
अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। उनका परिवारका सदस्यहरू हाल भारतको मुम्बईमा रहेकाले उनीहरू काठमाडौँ आउँदै रहेको अध्यक्ष निरौलाले जानकारी दिए ।
नेपाली तथा भारतीय चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह प्रतिष्ठा र सम्मान दिलाउन सफल सुनिल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए। उनको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध र शोकाकुल बनेको छ।
उनी शङ्खमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए ।