काठमाडौँ . आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका निर्वाचनको ४८ घण्टाअगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले सो निर्णय गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले बैठकबाट उक्त सहमति भएको जानकारी दिए ।
बैठकमा सीमा सुरक्षा मजबुत बनाउने, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा विस्तृत छलफल भएको थियो।
यसैगरी सीमास्तम्भ संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा पनि दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमाक्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यहाँबाट हुन सक्ने जोखिमको मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासीहरूको गतिविधिमाथि निगरानी बढाउने र विभिन्न तहमा नियमित चेकजाँच गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन्।
बैठकमा आपराधिक तत्वबाट हुन सक्ने घुसपैठलाई कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा मादक पदार्थको बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा रोक्ने विषयमा पनि छलफल भएको जानकारी सशस्त्र प्रहरीले दिएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा दुई देशबीचको रेखा मात्र नभई मित्रताको प्रतीकसमेत भएको उल्लेख गरे ।
त्यसैगरी भारतीय सशस्त्र सीमा बलका डिआइजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमाक्षेत्रलाई आगामी दिनमा अझ सुरक्षित, मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।