शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘अबकी बार, सय पार’ नारासहित चुनावी अभियान चलाउन सभापति थापाको निर्देशन

शुक्रबार, माघ २३ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका कार्यकर्ताहरूलाई ‘अबकी बार, सय पार’ नारासहित अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको सङ्गठनात्मक शक्तिका आधारमा बहुमत हासिल गर्न सकिने दाबी गरे। उनले कार्यकर्ताहरूलाई घर–घर पुगेर मत माग्न आग्रह गर्दै नेपाली कांग्रेस नै देशभर १६५ निर्वाचन क्षेत्रमा चुनाव लड्ने एकमात्र पार्टी भएको उल्लेख गरे ।

सभापति थापाले भने, “कुनै पनि कार्यकर्ताले रुख चिह्नबाहेक अन्यत्र मत हाल्न पाइँदैन । बन्द कोठामा गएर खासखुस गर्नुहुँदैन । कुनै नेताको जितका लागि अर्को नेतालाई हराउने खेल स्वीकार्य छैन । अब ‘यो सरकार’ भन्ने पुरानो नारा छोड्नुस् र ‘अबकी बार, सय पार’ नारा लगाउनुस् । हाम्रो सङ्गठनको तागतले बहुमतसम्म पुग्न सक्छौँ ।”

पार्टीमा १० लाख क्रियाशील सदस्य रहेको उल्लेख गर्दै उहाँले विगतमा विभिन्न कारणले पार्टी छोडेका नेता–कार्यकर्तालाई फर्कन आह्वान गरे । “चित्त दुखेर गएका साथीहरूलाई हृदयदेखि स्वागत गर्नुपर्छ । घर फर्क भन्नुपर्छ । तपाईंहरू जुन कुरामा दुखाएर जानुभयो, त्यसलाई सम्बोधन गर्ने प्रयास गरिएको छ भन्ने सन्देश दिनुपर्छ,” उनले भने ।

सभापति थापाले अघिल्लो निर्वाचनमा आन्तरिक असन्तुष्टि हुँदाहुँदै पनि समानुपातिकतर्फ २७ लाखभन्दा बढी मत प्राप्त भएको स्मरण गराउँदै हल्लामा नडराउन कार्यकर्तालाई आग्रह गरे। “सामाजिक सञ्जालमा सक्रिय हुनुहोस्, तर त्यहीँ मात्र सीमित नहुनुस् । हाम्रो वास्तविक शक्ति घर–घर, गाउँ–गाउँ र टोल–टोल पुग्नु हो,” उनको भनाइ थियो ।

पुरानो चुनावी शैली अब पर्याप्त नहुने भन्दै उनले प्रचारप्रसारको तरिका परिवर्तन गर्नुपर्नेमा जोड दिए । “उम्मेदवार एक्लै हिँडेर हुँदैन । ४–५ जना कार्यकर्ता लिएर घरदैलो गर्नुपर्छ । कुनै घर र कुनै मतदाता छुट्नु हुँदैन । अब पर्चा छोडेर हिँड्ने होइन, घरभित्र बसेर कुराकानी गर्नुपर्छ, गाली र प्रश्न सुन्नुपर्छ र जवाफ दिनुपर्छ । हामी गाली र प्रश्नबाट भाग्ने पार्टी होइनौँ,” सभापति थापाले स्पष्ट पारे ।