बागमती । आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि उनीहरूले आमाको नामबाट अङ्गीकृत नागरिकता पाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार संशोधित नागरिकता ऐनअनुसार आवश्यक कागजात पेस गरेका पाँच जनालाई हालसम्म अङ्गीकृत नागरिकता प्रदान गरिएको छ । नागरिकता प्राप्त गर्नेमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका तीन जना, हेटौँडा उपमहानगरपालिका–४ का एक जना र राक्सिराङ्ग गाउँपालिकाका एक जना रहेका छन् ।
आमाको नेपाली नागरिकता हुँदाहुँदै पनि बुबा विदेशी भएकै कारण लामो समयदेखि नागरिकता पाउन नसकेका उनीहरू नागरिकता ऐन संशोधनपछि योग्य ठहर भई नागरिकता प्राप्त गर्न सफल भएका हुन् ।
सहायक प्रजिअ जोशीका अनुसार बुबा विदेशी रहेको प्रमाणका आधारमा आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था पछिल्लो नागरिकता नियमावलीमा गरिएको छ । सोही व्यवस्थाअनुसार पाँचै जनालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको उनले बताए ।