काठमाडौँ । काठमाडौँको बौद्ध टुसालस्थित एक घरबाट एक करोड रुपैयाँभन्दा बढीको सुन चोरीमा संलग्न अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। स्थानीय रिन्जी लामाको घरबाट एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको आरोपमा प्रेम चौधरी थारु पक्राउ परेका हुन्।
प्रहरीका अनुसार थारु नेपालगञ्ज निवासी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो।
काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। “बौद्धमा भएको चोरीको घटनामा उनलाई पक्राउ गरिएको हो। यसअघि दिउँसोको समयमा भोटेबहाल र कालिमाटी क्षेत्रमा भएका चोरीका घटनापछि प्रहरी निगरानी बढाइएको थियो,” एसपी भट्टराईले बताए।
प्रहरीका अनुसार थारु यसअघि पनि विसं २०७९ मा चोरी मुद्दामा पक्राउ परेर कारागार बसेका व्यक्ति हुन्। गोली उनको दाहिने पिडुलामा लागेको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो थारुले लामाको घरबाट ३० तोला सुन, चाँदीका गहना र सिमालासहित कुल एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरको सामग्री चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।