शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

झापा–२ मा दिग्गजदेखि युवा अभियन्तासम्म चुनावी मैदानमा, विकास र समावेशिता मुख्य मुद्दा

बिहिबार, माघ २२ २०८२

झापा ।  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तीव्र बनेको छ। निवर्तमान सभामुख र उपसभामुख, पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म प्रतिस्पर्धामा उत्रिएपछि यस क्षेत्रको राजनीतिक माहोल थप रोचक बनेको छ।

यस निर्वाचन क्षेत्रमा १५ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी कुल १८ जना चुनावी मैदानमा छन्। नेकपा (एमाले) बाट निवर्तमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। साथै जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, नेपाल जनमुक्ति पार्टी, विभिन्न वामपन्थी दल तथा तीन स्वतन्त्र उम्मेदवार पनि चुनावी होडमा छन्।

झापा–२ अन्तर्गत अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका–८ र ९, बुद्धशान्ति गाउँपालिकाका वडा १, २ र ३ तथा बिर्तामोड नगरपालिकाका वडा १ देखि ९ सम्म पर्दछन्। निर्वाचन आयोगका अनुसार यहाँ एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन्। यस क्षेत्रका ४९ मतदानस्थलमा १६५ मतदान केन्द्र तोकिएका छन्।

गत विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका घिमिरे २८ हजार ७१६ मतसहित विजयी भएका थिए भने स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपाल २६ हजार ४५५ मतसहित उपविजेता बनेका थिए। यसपटक नेपाल राप्रपाबाट उम्मेदवार बनेर पुनः चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन इतिहास हेर्दा झापा–२ मा एमालेको प्रभाव बलियो रहँदै आएको छ। विसं २०७४ मा एमालेकी पवित्रा खरेल, विसं २०७० मा एमालेका प्रेम गिरी र पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका धर्मशिला चापागाईं निर्वाचित भएकी थिइन् ।

उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा अघि सारिरहेका छन्। एमाले उम्मेदवार घिमिरेले अधुरा विकास आयोजना पूरा गर्न जनसमर्थन आवश्यक रहेको बताउँदै सडक विस्तार, फेन्सिङ र चार लेन सडक निर्माणलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। रास्वपाकी उम्मेदवार राना मगरले सामाजिक न्याय, समावेशिता र संविधान कार्यान्वयनलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्। पूर्वमन्त्री चापागाईंले बिर्तामोडलाई ‘स्मार्ट सिटी’ बनाउने, धार्मिक तथा पर्यटन पूर्वाधार विकास गर्ने योजना सार्वजनिक गर्नुभएको छ। कांग्रेस उम्मेदवार प्रसाईंले युवामैत्री नीति, कृषि र स्वरोजगारमा जोड दिएका छन् ।

स्वतन्त्र उम्मेदवार पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले कानुनी सुधार र संविधान संशोधनको आवश्यकता औँल्याएका छन् भने राप्रपा उम्मेदवार नेपालले हिन्दू राज्य र सनातन धर्मको संरक्षणलाई मुख्य मुद्दा बनाउनु भएको छ।

स्थानीय मतदाताले भने कृषि, ऊर्जा, उद्योग, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रतिनिधिको अपेक्षा गरेका छन्। बहुआयामिक विकासका योजना, चर्चित उम्मेदवार र उच्च जनचासोका कारण झापा–२ को निर्वाचन यसपटक विशेष ध्यानाकर्षणको केन्द्र बनेको छ।