शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आगामी निर्वाचनलाई लक्षित गर्दै सवारीसाधन प्रयोगसम्बन्धी नयाँ कार्यविधि जारी

बिहिबार, माघ २२ २०८२

काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनको प्रचारप्रसार अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगका अनुसार राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट र एकरूप बनाउन उक्त कार्यविधि लागू गरिएको हो। आयोगले यही माघ २० गते कार्यविधि स्वीकृत गरेको जनाएको छ।

कार्यविधिअनुसार सवारीसाधन प्रयोग गर्न चाहने राजनीतिक दल, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारले बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे (विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने) हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। सवारीसाधन सञ्चालन नहुने स्थानमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष वा उपाध्यक्षका उम्मेदवारलाई एउटा हलुका सवारीसाधन प्रयोग गर्न अनुमति दिइनेछ। वडाअध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा सवारीसाधन चलाउन पाउने व्यवस्था गरिएको छ। सवारीसाधन नचल्ने स्थानमा गाउँपालिका वा नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि दुईवटा र वडा तहका उम्मेदवारका लागि एउटा घोडा प्रयोग गर्न सकिनेछ।

कार्यविधिमा मौन अवधिमा सवारीसाधन प्रयोग गर्न नपाइने व्यवस्था स्पष्ट गरिएको छ। मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्मको समयावधिलाई जनाइएको छ। अनुमतिपत्र नलिई सवारीसाधन प्रयोग गरेमा वा मौन अवधिमा अनुमति प्राप्त सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई निर्वाचन समाप्त भएपछि मात्र फिर्ता गरिने व्यवस्था गरिएको छ।

यससम्बन्धी अनुगमन जिल्ला आचारसंहिता अनुगमन समितिले गर्नेछ। उल्लङ्घन देखिएमा स्थानीय प्रशासनलाई सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिनुपर्ने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।

मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। तर, हवाई उडानमा भने यो व्यवस्था लागू हुने छैन। मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकाय तथा पदाधिकारी, सञ्चारमाध्यम, कूटनीतिक नियोग, अन्तरराष्ट्रिय सङ्घसंस्था, विदेशी पर्यटक, अवलोकनकर्ता तथा आयोगले तोकेका अन्य निकाय र व्यक्तिलाई सवारीसाधन प्रयोगको अनुमति दिन सकिने कार्यविधिमा उल्लेख छ।

काठमाडौँ जिल्लामा आयोग परिसरमा स्थापना गरिने एकीकृत सवारीसाधन आवागमन ‘डेस्क’मार्फत अनुमति प्रक्रिया सञ्चालन गरिनेछ भने अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन अधिकृतसँगको समन्वयमा अनुमति जारी गर्नेछ। विदेशी नम्बर प्लेट भएका सवारीसाधनलाई चुनाव प्रचारप्रसार प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दूध ढुवानी सवारी, शववाहन, अस्पताल सेवा, दूरसञ्चार तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारीसाधन तथा ‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधनलाई भने अनुमति लिनु नपर्ने आयोगले जनाएको छ।