शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचनको २८ दिन बाँकी रहँदा प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्कमार्फत गर्न आयोगको नयाँ कार्यविधि

बिहिबार, माघ २२ २०८२

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगको माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा कार्यविधि ल्याइएको आयोगले जनाएको छ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामार्फत निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य लिइएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी सबै राजनीतिक दल, ती दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारका लागि प्राप्त हुने आर्थिक सहयोग, चन्दा र सम्पूर्ण खर्च अनिवार्य रूपमा यही विशेष बैङ्क खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। नगद कारोबारलाई निरुत्साहित गर्दै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्न यो व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।

कार्यविधिअनुसार राजनीतिक दलहरूले प्रचार–प्रसारका लागि बैङ्क खाता खोल्न निर्वाचन आयोगको सचिवालयबाट सिफारिस लिनुपर्ने छ भने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस गरिनेछ। सिफारिसका आधारमा मात्र तोकिएका बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न पाइने व्यवस्था छ। साथै, खाता सञ्चालन, कारोबारको सीमा, विवरण पेस गर्ने प्रक्रिया तथा अनुगमनसम्बन्धी प्रावधानहरू पनि कार्यविधिमा समेटिएका छन्।

निर्वाचन आयोगले मातहतका सबै निर्वाचन कार्यालय, बैङ्क तथा वित्तीय संस्थालाई कार्यविधिअनुसार आवश्यक काम कारबाही गर्न निर्देशन दिएको छ। साथै, राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सक्रिय सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।