बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालेन्द्र शाहलाई आयोगको दोस्रो स्पष्टीकरण

बुधबार, माघ २१ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई निर्वाचन आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ।

आयोगका अनुसार सादा पोसाकका प्रहरीले बालेन्द्र शाहका पक्षमा भोट माग्दै गरेको भन्ने श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रोपटक स्पष्टीकरण सोधिएको हो। निर्वाचन प्रचारप्रसारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कसो भएको हो भन्नेबारे आयोगले स्पष्ट जवाफ मागेको छ। आयोगले शाहलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

यस्तै, निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टीलाई पनि स्पष्टीकरण सोधेको छ। सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर दलको निर्वाचन चिह्न पेन्ट गरेर राखिएको भन्दै आयोगले आचारसंहिता उल्लङ्घन भएको आशंकामा स्पष्टीकरण मागेको हो।

उजुरीमा उल्लेख भएअनुसार उक्त कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल भएको भएमा सम्बन्धित दलको जिल्ला कार्य समितिलाई प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो भन्ने विषयमा आयोगले जवाफ मागेको छ।