बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रादेशिक अस्पताल सिरहाका करार कर्मचारीद्वारा ३८.७७ लाख हिनामिना, अख्तियारद्वारा मुद्दा दायर

बुधबार, माघ २१ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहामा करारका कर्मचारीहरूद्वारा करिब ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा हिनामिना, हानि र दुरूपयोग गरेको आरोपमा मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारको अनुसन्धानअनुसार अस्पतालमा ८ वटा बिल काउन्टरमार्फत संकलन गरिएको सेवा शुल्क अभिलेख र बैंक भौचर मिलान गर्दा ठूलो अन्तर देखिएको थियो। आर्थिक वर्ष २०८०।०८१ मा बिलिङ सफ्टवेयर अनुसार जम्मा रू.३,८७,६६,९७४.८३ आम्दानी हुनुपर्नेमा वास्तविक दाखिला रू.३,४८,८९,२५० मात्र देखिएको थियो। फरक रकम रू.३८,७७,७२४.८३ हालसम्म दाखिला नगरी हिनामिना भएको पाइएको छ।

अदालतमा दायर आरोपपत्रमा बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादवको नाम उल्लेख गरिएको छ। आरोपअनुसार उनीहरूले सफ्टवेयर अभिलेख अनुसारको आम्दानी पूर्ण रूपमा दाखिला नगरी आफ्नो जिम्मामा रहेको सार्वजनिक रकम हिनामिना तथा दुरूपयोग गरेका छन्।

अख्तियारका अनुसार तत्कालीन प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवले पनि बदनियत राखेर अन्य प्रतिवादीसँग मिलेमतोमा आफ्नो पद र अधिकारको दुरूपयोग गरेर रकम हिनामिना गराएको देखिएको छ।

अख्तियारले उक्त कसुरमा संलग्न सबै प्रतिवादीविरुद्ध कानुनी कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र पेश गरेको जनाएको छ।