तनहुँ । तनहुँ जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। साबिक तनहुँ क्षेत्र नम्बर ३ वामपन्थी दलहरूको प्रभाव रहेको क्षेत्रका रूपमा चिनिँदै आएको भए पनि हालको निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक पुराना दलसँगै नयाँ राजनीतिक दलहरूको समेत कडा चुनौती देखिएको छ।
तनहुँ क्षेत्र नम्बर २ मा म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ पर्दछन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार यस क्षेत्रमा एक लाख २७ हजार ५१५ मतदाता रहेका छन्। क्षेत्रभर १५६ मतदान केन्द्र तोकिएका छन्।
विसं २०४८ यताका संसदीय निर्वाचनहरू हेर्दा यो क्षेत्रमा पाँच पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) र दुई पटक नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। विसं २०४८ मा एमालेका किरण गुरुङ, २०५१ मा कांग्रेसका अमरराज कैनी, २०५६ मा एमालेका टुकराज सिग्देल, २०६४ मा एमालेका किरण गुरुङ, २०७० मा एमालेका टुकराज सिग्देल, २०७४ मा एमालेकै केदार सिग्देल र २०७९ मा कांग्रेसका शङ्कर भण्डारी निर्वाचित भएका थिए ।
यसपटकको निर्वाचनमा यहाँ ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, नेकपा (एमाले) बाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल अर्गनाइजेसनबाट सुष्मा आले, नेसनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी तथा नेकपा (माओवादी) बाट गणेशबहादुर लामगादे उम्मेदवार रहेका छन् ।
विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शङ्कर भण्डारी तत्कालीन नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धनबाट ३० हजार ६०४ मतसहित निर्वाचित भएका थिए। त्यतिबेला एमालेका किरण गुरुङले २५ हजार १३०, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३७३ र राप्रपाका नरेन्द्रप्रताप महतले एक हजार ४२१ मत प्राप्त गरेका थिए ।
यसपटकको निर्वाचनमा मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।