काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा काभ्रेपलाञ्चोक जिल्लामा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु गरिएको सेवाअन्तर्गत पाँच महिनाको अवधिमा जिल्लामा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन् ।
जिल्लाका सबै १३५ वडाबाट एकैसाथ अनलाइन नागरिकता सिफारिस प्रक्रिया सुरु गरिएको हो । नागरिकताका लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पुग्नुअघि सम्बन्धित वडाले आवश्यक कागजात स्क्यान गरी अनलाइनमार्फत पेस गर्छन् । ती कागजात र अनलाइनबाट प्रिन्ट गरिएको सिफारिसका आधारमा सेवाग्राही जिल्ला प्रशासन कार्यालय पुगेर छिटो र सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
वडाबाट अपलोड गरिएको फाइल कोडका आधारमा विवरण ‘इन्ट्री’ गरेपछि सोही विवरणअनुसार नागरिकता प्रिन्ट हुने व्यवस्था छ । सनाखतकर्ताको पूर्ण विवरण पनि प्रणालीमै समावेश गरिने हुँदा प्रक्रिया थप पारदर्शी बनेको छ । यसका अतिरिक्त जिल्ला प्रशासन कार्यालयले समेत कागजात स्क्यान गरी छुट्टै डिजिटल अभिलेख तयार गर्ने गरेको छ ।
अनलाइन सिफारिस प्रणाली लागू भएपछि एउटै काम विभिन्न निकायमा पटक–पटक गर्नुपर्ने झन्झट हटेको, विवरणमा एकरूपता आएको र सेवाग्राहीको समय तथा खर्च बचत भएको छ । झुटो विवरण पेस गरी नागरिकता लिन खोज्नेका लागि भने यो प्रणाली चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार अनलाइन सिफारिसका कारण नागरिकतासम्बन्धी अभिलेख सुरक्षित र कम त्रुटियुक्त बनेका छन् । “कागजात सुरक्षित रहने, समय बचत हुने र सेवाप्रति नागरिकको विश्वास बढेको छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकतालगायतका सेवालाई झन्झटरहित बनाउने प्रयासस्वरूप अनलाइन प्रणाली प्रभावकारी बन्दै गएको बताउनुभयो । कागजात अपुगका कारण नागरिकता नबन्ने समस्या धेरै हदसम्म समाधान भएको उनको भनाइ छ । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले नागरिकता सिफारिसमा अनलाइन सेवा अत्यन्तै उपयोगी रहेको बताए।
यसैबीच चालु आर्थिक वर्षको पुस मसान्तसम्म छ महिनामा जिल्लामा चार हजार ३६१ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा सबैभन्दा बढी नागरिकता सिफारिस धुलिखेल नगरपालिकाबाट र सबैभन्दा कम खानीखोला गाउँपालिकाबाट भएको छ । इलाका प्रशासन कार्यालय महाभारतबाट ३५५ र अनलाइन सेवामार्फत ३२३ वटा नागरिकता जारी गरिएको छ ।
नयाँ नागरिकताभन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सो अवधिमा पाँच हजार ४९२ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । साथै २५ जनाले नागरिकता परित्याग गरेका छन् भने १८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । चार जनाको नागरिकता रद्द गरिएको कार्यालयले जनाएको छ ।