काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमै केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशस्तरमा विकेन्द्रीकरण गर्ने प्रक्रिया सुरु गरेको छ ।
देशका विभिन्न स्थानबाट काठमाडौँ आएर परीक्षा दिनुपर्दा विद्यार्थीले भोग्दै आएको असुविधा र आर्थिक भार हटाउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । पछिल्लो साता विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएपछि प्रशासनसँग सहमति जुटेको हो ।
परीक्षालाई क्रमशः विकेन्द्रित र सूचना प्रविधिमा आधारित बनाउँदै लैजाने उद्देश्यसहित यस वर्ष काठमाडौँमै सञ्चालन हुने भनिएको तीन वर्षे स्नातक तहको मौका परीक्षा अब माघ २५ गतेदेखि सम्बन्धित विद्यार्थीको प्रदेशमै सञ्चालन हुने व्यवस्था गरिएको छ । विश्वविद्यालयले प्रकाशित सूचनाअनुसार प्रत्येक क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र रहने गरी परीक्षा सञ्चालन गरिनेछ ।
यस व्यवस्था अनुसार मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन सङ्काय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका आंशिक तथा मौका परीक्षार्थीहरूले प्रदेशमै परीक्षा दिन पाउने छन् ।
“परीक्षा प्रणालीलाई क्रमशः विकेन्द्रित गर्ने उद्देश्यले यो निर्णय गरिएको हो,” परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले भने । तीन वर्षे स्नातक तहका परीक्षाजस्तै अन्य तह र कार्यक्रमका परीक्षाहरू पनि यथासम्भव प्रदेशबाटै सञ्चालन गरिने उनले जानकारी दिए ।