शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वैदेशिक हुलाक भन्सार शाखाका अधिकृतसहित तीन जना अख्तियारकाे नियन्त्रणमा

मंगलबार, माघ २० २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेमा भन्सार अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन् । उनीहरूलाई स्रोत नखुलेको रकम र रिसवतसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रवक्ता न्यौपानेका अनुसार कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउने क्रममा सेवाग्राहीसँग रिसवत माग गरिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धानका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट रिसवतबापत लिइएको रु १० हजार, सोही स्थानबाट स्रोत नखुलेको रु ४० हजार ३५० तथा निजको साथबाट स्रोत नखुलेको रु ९६ हजार ७० बरामद गरिएको छ । त्यसैगरी नायब सुब्बा रिजालको साथबाट रिसवतबापत लिइएको रु २० हजार, स्रोत नखुलेको रु १८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकमसहित कुल रु दुई लाख ६८ हजार २८८ तथा विभिन्न व्यक्तिबाट लिइएका २३ थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको प्रवक्ता न्यौपानेले बताए ।

घटनाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गरिरहेको जनाएको छ ।