काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । देशभर आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति पनि हिमाली भागमा साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भागमा मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभाव रहनेछ । साथै हिमाली क्षेत्रका केही स्थानमा हिमपात र वर्षा हुने भएकाले चिसो बढ्न सक्ने, दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने देखिएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।