शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता

मंगलबार, माघ २० २०८२

बहरथवा (सर्लाही) । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामै पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनका आधारमा बाबु विदेशी र आमा नेपाली रहेका गुप्तालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।

“ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको हो,” प्रमुख जिल्ला अधिकारी कँडरियाले भने, “यसले बुबाको पहिचान नखुलेका वा विदेशी बुबा र नेपाली आमाबाट जन्मिएका सन्तानका लागि आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने स्पष्ट बाटो खुलेको छ ।”

यस व्यवस्थाबाट जिल्लामा लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका धेरै नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको उनले बताए ।

संशोधन ऐन कार्यान्वयनका लागि दुई हप्ता पहिलेदेखि नै जिल्लाका २० वटै स्थानीय तहमा परिपत्र गरिएको र सोहीअनुसार आवश्यक प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको प्रजिअ कँडरियाले स्पष्ट पार्नुभयो ।

नागरिकता नहुँदा शिक्षा र सीप हुँदाहुँदै पनि रोजगारी नपाउने, बैंक खाता खोल्न, सिमकार्ड प्रयोग गर्न नपाउने जस्ता समस्याहरू अब समाधान हुने विश्वास उनले व्यक्त गरे ।

नागरिकता प्राप्त गरेपछि प्रतिक्रिया दिँदै राम मनोहर गुप्ताले भने, “आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली नागरिक आमाबाट नेपालकै भूगोलमा जन्मिएको सन्तानले आफ्नो पहिचानका लागि गर्नुपरेको संघर्ष निकै पीडादायी र चुनौतीपूर्ण रह्यो ।”