शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

सोमबार, माघ १९ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसर अन्वेषण गर्न आह्वान गरेका छन् । उनले नेपाल सरकारले विदेशी लगानीका लागि पूर्ण सहयोग, सहज प्रक्रिया र सुरक्षा प्रदान गर्न कटिबद्ध रहेको विश्वास व्यक्त गरे।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालमा जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्ने इच्छा व्यक्त गरे। उनले कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै भने, “नेपालमा लगानी गरे धन पनि हुन्छ! धर्म पनि हुन्छ।”

राष्ट्रपति पौडेलले नेपाल–जापान सम्बन्ध सांस्कृतिक रूपमा प्राचीन भएको उल्लेख गर्दै गौतमबुद्धको शान्ति दर्शन उद्धृत गरे। साथै, नेपालको राजनीतिक स्थिरता, सामाजिक न्याय, सुशासन र जनताको समृद्धिमा केन्द्रित प्रयासहरू उल्लेख गर्दै विदेशी लगानीका लागि वातावरण अनुकूल रहेको बताए।

उनले नेपालको उदार आर्थिक नीतिहरू, कानुनी सुधार, उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषि उद्योगहरूमा लगानीको सम्भाव्यता र नेपाल लगानी बोर्डमार्फत ठूला लगानीकर्ताहरूलाई एकद्वार सेवा उपलब्ध गराइने सुविधा पनि उल्लेख गरे ।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीका अवसरहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी जापानी व्यापारिक समुदायले नेपालमा विविध लगानी अवसर देखेर उत्साह व्यक्त गरेका थिए।