शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वैदेशिक हुलाक भन्सारका कर्मचारी नियन्त्रणमा, लाखौं रुपैयाँ र मोबाइल बरामद

सोमबार, माघ १९ २०८२

काठमाडौँ । अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा तथा संचार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारमा कार्यरत कर्मचारीहरू घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका छन्।

अख्तियारले दिएको जानकारीअनुसार, भन्सार अधिकृत ईन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र नायब सुब्बा छवि प्रसाद रिजालले कुरियर कम्पनीमार्फत विदेश पठाइएका सामानको प्रक्रिया गर्दा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको सूचना प्राप्त भएको थियो।

अख्तियारको टोलीले २०८२।१०।१८ गते देहाय प्रमाणसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानको क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षको टेबुलको घर्राबाट घुस/रिसवत बापत लिइसकेको रकम रु. १०,०००, स्रोत नखुलेको रु. ४०,३५० र साथबाट रु. ९६,०७० गरी कुल रु. १,४६,४२० बरामद भएको छ।

त्यसैगरी, नायब सुब्बा रिजालको साथबाट घुस/रिसवत बापत रु. २०,००० र स्रोत नखुलेको रु. १८,८४८ गरी कुल रु. ३८,८४८ बरामद भएको छ। बरामद रकम र अन्य स्रोत नखुलेको रकम समेत गरी जम्मा रु. २,६८,२८८ तथा बिभिन्न व्यक्तिहरुबाट २३ वटा मोबाइल सेट समेत नियन्त्रणमा लिइएको छ।

अख्तियारको टोलीले थप अनुसन्धान जारी राखेको जनाएको छ।