साउन १२, काठमाडौं । नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । यो पराजयसँगै नेपालको टी–ट्वान्टी विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ।
आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको हो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो ।
५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो । त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।