बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगामी निर्वाचन देशको स्वाधीनता र अस्तित्व रक्षाका लागि निर्णायकः उपाध्यक्ष थापा

सोमबार, माघ १९ २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुने निर्वाचन देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको रक्षाका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् ।

प्रवासी नेपाली सङ्घ, भारत केन्द्रीय समितिको सातौँ बैठकलाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपाध्यक्ष थापाले निर्वाचनलाई देश निर्माणका लागि नयाँ सङ्घर्षको रूपमा बुझ्नुपर्ने उल्लेख गरे । उनले पार्टीका पक्षमा जनमत सिर्जना गर्न प्रवासमा रहेका नेपालीलाई सक्रिय रूपमा लाग्न आग्रह गरे ।

पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका उपाध्यक्ष थापाले एमाले देशभक्त र राष्ट्र निर्माणको बलियो शक्ति भएको दाबी गरे । उनले निर्वाचनमार्फत पार्टीलाई थप सशक्त बनाउँदै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनःस्थापना गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । यस कार्यमा प्रवासमा रहेका नेपालीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

उपाध्यक्ष थापाले पार्टीले सबै पक्षको सुझाव समेटेर चुनावी घोषणापत्रको तयारी गरिरहेको जानकारी दिए । घोषणापत्रमा देश र जनताका सरोकारका विषयका साथै राष्ट्रियता, लोकतन्त्र, विकास, समृद्धि र अन्तरराष्ट्रिय सम्बन्धसम्बन्धी एजेन्डाहरू समेटिने उनले बताए ।

प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायण हुमागाईंको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास संयोजक हरिप्रसाद घिमिरेलगायत नेताहरूले पनि सम्बोधन गरेका थिए ।