बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पतञ्जली जग्गा हिनामिना प्रकरणः माधवकुमार नेपालसहित ९३ प्रतिवादीको मुद्दामा साक्षी बुझ्ने आदेश

सोमबार, माघ १९ २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले उक्त जानकारी दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले काभ्रेपलाञ्चोकको साँगामा रहेको हदबन्दी छुट जग्गालाई कानुनविपरीत खरिद–बिक्री गर्न अनुमति दिएको आरोप छ ।

अख्तियारको अभियोगअनुसार २०६६ माघ १८ गतेको मन्त्रिपरिषद् बैठकले पतञ्जलीलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृति दिएको थियो । त्यसैगरी २०६६ चैत ६ गते सोही हदबन्दी छुटमा खरिद गरिएको जग्गा बिक्री गर्न पाउने निर्णयसमेत मन्त्रिपरिषद्बाट गरिएको उल्लेख छ ।

सरकारको उक्त निर्णयपछि सार्वजनिक सम्पत्तिमा हिनामिना भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । सो मुद्दामा अख्तियारले माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ ।

यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा नेपाललाई रिहा गर्न आदेश दिएको थियो ।