काठमाडौँ । अमेरिका र इरानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो सुरक्षित स्थानमा सर्न वा स्वदेश फर्किन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै हाल इरान भ्रमणको योजना बनाइरहेका नेपालीलाई यात्रा स्थगित गर्न सल्लाह दिएको हो ।
मन्त्रालयले इरानको सुरक्षा अवस्था सामान्य नहुञ्जेलसम्म त्यहाँ भ्रमण नगर्न अनुरोध गर्दै हाल त्यहाँ रहेका नेपाली नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पछिल्लो विकासक्रमलाई मध्यनजर गर्दै इरान भ्रमण गर्ने योजना स्थगित गर्न सल्लाह दिइन्छ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म छिटो इरान छोड्न अनुरोध गरिन्छ ।”
मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई पासपोर्ट, परिचयपत्रलगायत महत्वपूर्ण कागजातहरू सुरक्षित र सजिलै प्राप्त हुने स्थानमा राख्न पनि आग्रह गरेको छ । साथै आपतकालीन अवस्थामा सहयोग तथा समन्वयका लागि नेपालस्थित परराष्ट्र मन्त्रालय र कतारस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
इरानमा रहेका नेपाली नागरिकको यकिन संख्या भने सरकारसँग उपलब्ध नभएको मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।