भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार स्थलगत अवलोकन गरेका छन् । अवलोकनपछि उनले सुधार गृहको समग्र अवस्था र हालसम्मको वस्तुस्थितिबारे सम्बन्धित अधिकारीहरूसँग जानकारी लिए ।
गृहमन्त्री अर्यालले माघ ८ गते बाल सुधार गृहमा भएको आगजनी र तोडफोडबाट पुगेको क्षति तथा घटनाको विवरणबारे भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काबाट विस्तृत जानकारी लिएका थिए ।
अवलोकनका क्रममा गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई यस्ता घटना पुनः नदोहोरिन आवश्यक कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार घटनापछि बाल सुधार गृहमा रहेका १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोटस्थित कारागारको छुट्टै ब्लकमा स्थानान्तरण गरिएको छ ।
माघ ८ गते राति बाल सुधार गृहमा रहेका बालबिज्याइँकर्ताले आगजनी र तोडफोड गरेका थिए । अवस्था नियन्त्रणमा लिन प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीमाथि सुधार गृहभित्रबाटै ढुङ्गामुढा भएको जनाइएको छ ।
घटनाका समयमा सुधार गृहमा १८ वर्षभन्दा माथिका ८४ जना तथा २४ जना बालिका रहेका थिए । हाल बालिका र १८ वर्षमुनिका बालबिज्याइँकर्तालाई भने सुधार गृहमै राखिएको प्रशासनले जनाएको छ ।