शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उदयपुर सिमेन्ट घोटाला: तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, माघ १९ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको घोटाला प्रकरणमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार उद्योगमा क्लिङ्करको मौज्दातमा गडबडी गरी करिब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरिएको दाबी गर्दै आइतबार आरोपपत्र दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा तत्कालीन महाप्रबन्धक पौडेल, निमित्त महाप्रबन्धक नवल किशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जी.सी. रहेका छन् ।

अख्तियारले तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक काफ्लेसँग १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो माग दाबी गरेको छ । साथै अन्य प्रतिवादीहरूसँग जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरिएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदन र महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उद्योगमा अनियमितता भएको देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा क्लिङ्करको खपत बढी तर उत्पादन कम देखाइएको पाइएपछि अनियमितता पुष्टि भएको अख्तियारको भनाइ छ ।

अभियोगपत्रअनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना गर्ने उद्देश्यले कागजी रेकर्डमा क्लिङ्करको मौज्दात बढी देखाउने तर वास्तविक भण्डारणमा कम राख्ने गरेको उल्लेख छ । सामान्यतया क्लिङ्कर र चुनढुङ्गाको उत्पादन अनुपात ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्ट उद्योगमा उक्त अनुपात घटेर ०.६४९ सम्म पुगेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार आ.व. २०७४/०७५ मा १,१२९ मेट्रिक टन (बिगो रु. १ करोड १४ लाख), आ.व. २०७५/०७६ मा १०,२९० मेट्रिक टन (बिगो रु. ११ करोड ३३ लाख), आ.व. २०७६/०७७ मा १,३२५ मेट्रिक टन (बिगो रु. १ करोड ६२ लाख) तथा आ.व. २०७७ साउनदेखि पुससम्म २६,११५ मेट्रिक टन (बिगो रु. ३२ करोड ४३ लाख) क्लिङ्कर हिनामिना भएको दाबी गरिएको छ ।