विद्यालय–विद्यालयमा योग्य शैक्षिक काउन्सिलर उपलब्ध गराउने प्रतिबद्धता
ओखलढुंगा । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा ओखलढुंगा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको समग्र विकाससँगै युवा र महिला सशक्तीकरणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारेकी छन् ।
शनिबार नेकपा एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले ओखलढुंगाको विकास अब आफैं नेतृत्व गरेर अघि बढाइने बताइन् । उनले जिल्लामा सीमानाका सडक निर्माण गर्दै सबै पालिका–पालिकामा कालोपत्रे सडक विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
एक गाउँपालिकाका नागरिकले तीन जिल्ला हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य गरिने उल्लेख गर्दै थापाले दुर्गम भौगोलिक अवस्थाका कारण जनताले भोग्दै आएका समस्याको समाधानका लागि आफू दृढताका साथ लाग्ने बताइन् । मोबाइल नेटवर्क नपुगेर फोन गर्न डाँडामा जानुपरेको आफ्नै अनुभव स्मरण गर्दै उनले ओखलढुंगाका सबै क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गरिने जानकारी दिइन् ।
“अब फोनको नेटवर्क मात्रै होइन, ओखलढुंगाका विभिन्न स्थानमा साइबर क्याफे स्थापना गरिनेछ । उच्चस्तरीय इन्टरनेटको पहुँच विस्तार गरी काठमाडौँ नआइकनै घरमै बसेर आइटीसम्बन्धी काम गर्न सकिने वातावरण निर्माण गरिनेछ,” थापाले भनिन् ।
शिक्षा क्षेत्रतर्फ ध्यान दिँदै उनले विद्यालय–विद्यालयमा योग्य शैक्षिक काउन्सिलर उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । महिला सशक्तीकरणका विषयमा बोल्दै थापाले महिलाको वास्तविक मुक्ति आसन, भाषण र शासनमा महिला सहभागिता सुनिश्चित नभएसम्म सम्भव नहुने बताइन् । त्यसका लागि आफू देशव्यापी नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो ।
नवयुवाहरूले भाषणभन्दा काममार्फत आफूलाई प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै उनले युवा पुस्ताले व्यवहारमा आधारित नेतृत्वको उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिइन् ।
लिखु गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी अस्मिता थापा एमालेभित्र युवा तथा महिला प्रतिनिधित्वको सशक्त प्रतीकका रूपमा परिचित छन् । विकास, सूचना प्रविधि, सडक पूर्वाधार र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै उनले आफ्नो राजनीतिक एजेन्डा अघि बढाउँदै आएकी छन् ।